
उद्धार, रोकथाम, र पुनःस्थापनाको माध्यमबाट मानव बेचबिखनको विरुद्धमा कार्य गर्दै आएको थ्रि एन्जल्स नेपालले मनहरी गाउँपालिका वडा नम्बर ६ हङ्गलङमा वडा कार्यालयसँगको साझेदारीमा पाँच कोठे विद्यालय भवन निर्माण सम्पन्न गरेको छ। थ्रि एन्जल्स नेपालले १७ लाख ५० हजार रुपैयाँ र स्थानीय सरकारले २ लाख ५० हजार रुपैयाँ गरी जम्मा २० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन वडा नं. ६ का वडा अध्यक्ष युवराज थपलियाले गर्नुभयो।
तीन पटकसम्म ठेक्का परे पनि भौगोलिक विकटताका कारण ठेकेदार कम्पनीहरू निर्माण कार्यबाट पछि हटेपछि त्रिमूर्ति कन्स्ट्रक्सन, काठमाडौंले ठेक्का लिएर भवन निर्माण कार्य सम्पन्न गरेको हो। २०५५ सालमा स्थापना भएको श्री प्रजा विकास प्राथमिक विद्यालय विभिन्न समयमा प्राकृतिक विपत्ति तथा भौतिक संरचनाको जीर्णताका कारण पठनपाठनमा कठिनाइ भोग्दै आएको थियो। हाल विद्यालयमा ३० जना विद्यार्थी अध्ययनरत छन् भने कक्षा ३ सम्मको पठनपाठन हुने गर्दछ।
यस क्षेत्रमा मुख्यतः चेपाङ समुदायको बसोबास रहेको छ। विद्यालयको पूर्वाधार कमजोर हुँदा विद्यार्थीहरू वर्षौंसम्म असहज परिस्थितिमा अध्ययन गर्न बाध्य थिए। काठले बनेका पुराना कोठाहरूमा पानी चुहिने समस्याले विद्यार्थीहरू प्रभावित हुने गर्थे। यस्तो परिस्थितिमा थ्रि एन्जल्स नेपालले विद्यालयको भौतिक सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

निर्माण कार्य दुई महिनाभित्रै सम्पन्न भई विद्यालय सञ्चालनमा आउँदा विद्यार्थी, शिक्षक तथा अभिभावकहरू खुशी भएका छन्। उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका वडा अध्यक्ष युवराज थपलियाले राज्यको बजेट फ्रिज भएको अवस्थामा संस्थाको सक्रियताले विद्यालय भवन निर्माण सम्पन्न भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो। साथै, विद्यालयलाई सम्भावित पहिरोबाट जोगाउन आवश्यक पर्खाल तथा स्टाफ रूम निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। उहाँले शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकहरूलाई रिफ्रेसर प्रशिक्षण आवश्यक रहेकोमा पनि जोड दिनुभयो।

थ्रि एन्जल्स नेपालका कार्यक्रम निर्देशक विवेक ढकालले विद्यालय भवन निर्माण गर्न निकै मिहिनेत गर्नुपरेको भन्दै यसको संरक्षणमा सबै पक्षको सहभागिता आवश्यक रहेको बताउनुभयो। संस्थाका कार्यक्रम व्यवस्थापक रजनी बानियाले मनहरी गाउँपालिकामा संस्थाले विगतदेखि नै सहयोग गर्दै आएको र यो सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीरबहादुर प्रजाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष युवराज थपलिया, अतिथिहरू थ्रि एन्जल्स नेपालका कार्यक्रम निर्देशक विवेक ढकाल, कार्यक्रम व्यवस्थापक रजनी बानिया, शाखा प्रमुख सुनिता सिलवाल, फिल्ड कोर्डिनेटर प्रतिभा बस्नेत, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, तथा स्थानीय अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक देवराज प्रजाले गर्नुभएको थियो।

थ्रि एन्जल्स नेपालले चितवनको राप्ती नगरपालिका र मकवानपुरको मनहरी गाउँपालिकामा बालिकाहरूले विचैमा विद्यालय छोडी बाल विवाह गर्ने प्रवृत्तिलाई रोक्न क्याप्टिभेटिङ इन्टरनेशनलको सहयोगमा ५०० जना बालिकाहरूलाई शैक्षिक छात्रवृत्ति वितरण, किशोरीहरूको लागि व्युटी पार्लर तालिम, सिलाइ-कटाइ तालिम, किशोरी क्लबहरूको गठन लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।