नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले कपिलवस्तु जिल्लामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजन ढकाललाई २०८३ साल असार महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ (Best Traffic Police of the Month) घोषणा गरेको छ।
कार्यालयका अनुसार प्रहरी निरीक्षक ढकालले लुम्विनी प्रदेशमा कार्यरत ट्राफिक प्रहरीहरु मध्येवाट असार महिनाभर सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्नुभएकोले उहाँले पुरा गर्नुभएको व्यावसायिक जिम्मेवारी र संगठनप्रतिको समर्पणको उच्च मुल्याङकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
प्रहरी निरीक्षक ढकालको नेतृत्वमा कपिलवस्तु जिल्लामा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका थिए। असार महिनामा मात्र २०७ वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी १३ हजार ६३५ जना नागरिक, चालक, सहचालक तथा सर्वसाधारणलाई ट्राफिक नियमसम्बन्धी जानकारी प्रदान गरिएको कार्यालयले जनाएको छ।
त्यसैगरी ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १९६ वटा सवारी साधनमाथि कारबाही गरिएको छ भने क्षमता भन्दा बढी भार बोकेका ६८२ वटा सवारी साधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको उल्लेख गरिएको छ।
दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत नियमित ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाउँदै लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा तीन जना चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि पठाइएको पनि कार्यालयले जनाएको छ। यस्ता कडाइका कारण जिल्लामा सवारी दुर्घटना, घाइते तथा दुर्घटनाबाट हुने मानवीय क्षतिमा अघिल्लो महिनाको तुलनामा उल्लेखनीय कमी आएको कार्यालयको मूल्याङ्कन छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार प्रहरी निरीक्षक ढकालले संगठनको नीति, निर्देशन तथा व्यावसायिक आचारसंहितालाई पूर्ण रूपमा पालना गर्दै नागरिकमैत्री सेवा प्रवाह, ट्राफिक व्यवस्थापनको सुदृढीकरण र सडक सुरक्षालाई प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्याउनुभएको छ । यही उत्कृष्ट कार्यसम्पादनका आधारमा उहाँलाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषणा गरिएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहिका प्रमुख तथा प्रहरी उपरीक्षक निशान थापाले प्रहरी निरीक्षक राजन ढकाललाई सम्मानित हुनुभएकोमा बधाई दिँदै आगामी दिनमा पनि नागरिकको सुरक्षाका लागि अझ प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्न शुभकामना व्यक्त गर्नुभयो ।