आफ्नो गाउँ छोडेको पनि चालिस वर्षभन्दा बढी भइसके छ। तीमध्ये झन्डै बीस वर्ष काठमाडौंमा बिते, बाँकी समय विदेशमै बिते। यति लामो अन्तरालमा मैले जति सपना देखें, तीमध्ये धेरैजसोमा गाउँकै कुरा मात्र आँउथे – जहाँ म जम्मा १६/१७ वर्ष मात्रै बसेको थिएँ। न त काठमाडौंमा बस्दाको बखतका कुरा सपनामा आए, न त विदेशमा बिताएको समयका। सपनामा आउँथे त केवल आफ्नै गाउँ, खेतबारी, झिमरुक खोला, बाल्यकालका साथीभाइ र छर–छिमेकी मात्र। तर यसपटक भने अचम्मै भयो। मैले एउटा अलि फरक, अनौठो सपना देखें।
म प्युठान प्रादेशिक विश्वविद्यालय (Pyuthan State University), अर्थात PSU को विद्यार्थी रहेछुँ। विश्वविद्यालय जुजेनेटाको डाँडामा रहेछ। संरचनाहरूले वरिपरिको प्राकृतिक दृश्य नछेकियोस् भनेर बनाइएका साना–साना भवनहरू, ढुंगाले छाएको छानो, वरिपरि मौसमअनुसार फल्ने–फुल्ने थरिथरिका फलफूलका वृक्षहरू, हेर्दा नै आकर्षक र शान्त परिसर।
त्यो दिन शुक्रबार थियो। विश्वविद्यालयमा ठूलै कार्यक्रम रहेछ। शिक्षा मन्त्री प्रमुख अतिथि रहेछन्। हामी अर्थात् म, मेरो अमेरिकी साथी डेभिड, जापानी साथी तारो र चिनियाँ साथी हाओ समयमै कार्यक्रम स्थलमा पुग्यौं।
प्रमुख अतिथि आफ्नो गाडी आफैले चलाएर आए र मञ्चको तलपट्टि गएर सुटुक्क बसे। न त कसैले उनलाई लिन गयो, न कसैले मञ्चमा बोलायो। यो देखेर मेरो अमेरिकी साथी दंग पर्दै भन्यो – “नेपालमा त अचम्मै हुने रहेछ। अमेरिकामा भएको भए शिक्षा मन्त्रीसँग थुप्रै सुरक्षा गार्ड र ड्राइभर हुने थिए, र विश्वविद्यालयका कुलपतिले खादा र मालाले स्वागत गरेर मञ्चमा राख्थे”।
मैले उसलाई नेपालमा त्यस्तो औपचारिकताको चलन छैन भनेर बताएँ।
कुलपतिले कार्यक्रमको बारेमा थोरै बोलेपछि प्रमुख अतिथिलाई आफ्नो मन्तव्य राख्न मञ्चमा बोलाए। उनी ज्ञानका भण्डार रहेछन्। राजनीतिज्ञ भएर पनि अहिले भइरहेको प्रविधिको विकास, एआईले आगामी दिनमा मानव जीवनशैलीमा पार्न सक्ने प्रभाव, नेपालले लिनुपर्ने शिक्षा नीति, प्रविधिको विकाससँगै नैतिक शिक्षा र लिबरल आर्ट्सको महत्व, अनि नेपालको अर्थतन्त्रमा चिनियाँ र भारतीय प्रभावबारे अत्यन्त सारगर्भित मन्तव्य राखे।
मेरो जापानी साथीले भन्यो – “तिमीहरूको शिक्षा मन्त्री त निकै पढेलेखेका रहेछन्। हाम्रामा त तल्लो वडा तहदेखि आन्दोलन गर्दै राजनीति सिकेको हुनुपर्छ”। मैले थोरै घमण्ड गर्दै भने – “नेपालमा जुनसुकै क्षेत्रको भए पनि सक्षम र विज्ञलाई छानेर मन्त्री बनाउने चलन छ। अहिलेका शिक्षा मन्त्री त पहिले कुनै एउटा विश्वविद्यालयको अध्यक्ष थिए”।
कार्यक्रम सकिएपछि हामी जुजेनेटालाई खैरासँग जोड्ने शिसै–शिसाले बनेको आकाशे टनेलबाट हिँड्दै शुलिघर पुग्यौं। शुलिघरबाट केवल–कार चढेर खैराकोट पुग्यौं। चौतारोको छेवैमा ‘माउण्टेन भ्यू’ रेस्टुरेन्ट रहेछ। रेस्टुरेन्टको बाल्कनीबाट देखिने दृश्य अत्यन्त मनमोहक थियो।
टिलिक्क टल्कने विश्वविद्यालयका भवनहरू, चेरनेटाको बाटो, तल विशाल हरियाली फाँट, झिमरुक खोलाको किनारै–किनार रिबन जस्तो देखिने पक्की बाटो, नदीकिनारमा रातै फुलेका बेगमबेलिका फूलहरू, क्वाडी र बिजुवारका थुम्का परेका पहाडमा मिलाएर बनाइएका एकै किसिमका घरहरू, घर–घर जाने घुम्ती परेका सडक, सडक छेउमा लटरम्म फलेका सुन्तला र कागतीका बोटहरू, कुमिकोट र बेलडाँडाका समथर परेका हराभरा खेतीयोग्य भूभाग, अलि तल नदीकिनारमा देखिने चिटिक्क परेका तिग्रा र धुबाङ्गका गाउँहरू, अनि पारितिर देखिने तिल्केनी, तिराम र स्वर्गद्वारीका हरिया पहाडहरू – कसको मन नलोभिएलार?
यस्तो विचित्रको प्राकृतिक क्यानभासमा चेरनेटाको डाँडो काटेर बनाइएको एयरपोर्टमा साना–साना जहाजहरू आउजाउ गरेको दृश्य देख्दा पिकासोले बनाएको चित्रभन्दा कम लाग्दैनथ्यो। यस्तो दृश्य देखेर मेरा विदेशी साथीहरूले “प्युठान त स्विजरल्याण्डभन्दा पनि राम्रो रहेछ” भनेको सुन्दा मेरो मन गमक्क फुल्यो।
कुरैकुरामै मेरा अमेरिकन साथीले किन समथर खेतबारीमा घरहरू नबनाएको होला भनेर जिज्ञासा राखे। खाद्य सुरक्षाको कारणले हामी खेतीयोग्य जमिनमा घर बनाउँदैनौं, प्युठान कृषिमा आत्मनिर्भर छ – मैले बताए। उनले अमेरिकाको चलन हामीलाई सुनाए। उतातिर सकेसम्म समथर खेतीयोग्य जमिनमै बस्ती बसाउँदा रहेछन्। त्यसो गर्दा घर, बाटो, ढल आदि बनाउन सजिलो हुन्छ रे। खानेकुरा त विदेशबाटै आयात गर्छन् रे।
चाइनिज साथीले रम्दि माथि चिनको डाँडोमा राखिएको टेलिस्कोपको बारेमा जिज्ञासा राखे। मैले भने – “यो संसारकै सबैभन्दा ठूलो टेलिस्कोप हो। संसारभरिबाट वैज्ञानिकहरू ब्रह्माण्डको रहस्यबारे खोजी गर्न यहाँ आउँछन्”।
मैले पनि विदेशी साथीहरूलाई आफ्नो देश छोडेर यति टाढा किन आएको भनेर जिज्ञासा राखेँ। उनीहरूले भने – “PSU संसारकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक हो। नोबेल पुरस्कार प्राप्त गरेका धेरै वैज्ञानिकहरूले यहाँ प्राध्यापन गर्छन्। यहाँ पढ्न पाएकोमा हामि आफुलाई भाग्यमानी ठान्छौं”। अमेरिकन साथीले थपे – “PSU कै स्कूल अफ इकोनमिक्सबाट पीएचडी गर्ने व्यक्ति हाम्रो देशमा प्रसिद्ध अर्थशास्त्री छन्। म त पीएचडी सकेर यतै नेपालमा बस्ने सोचमा छुँ।”
एकैछिनमा रेस्टुरेन्टका वेटरले मेनु लिएर आए। मेनुमा विदेशी परिकारदेखि स्थानिय अर्गानिक उत्पादनबाट बनेका थरिथरिका परिकार रहेछन्। मेरा विदेशी साथीहरूले प्यूठानी परिकार रोजे – डाम्रिको लेकबाट ल्याएको कालो आलुको भुटन, स्याउलिबाङ्को फापरको रोटी, अर्खाबाट ल्याएको चाङ्ग्राको सेकुवा, भद्रेचौरको बनमा मारेको बँदेलको मासु, खैरा फाँटको इष्टमालि चामलको हरर बासना आउने भात, धरमपानीको रायोको साग, स्थानिय जातको गाईको मोही र स्थानिय जातकै बाख्राको चिज, अनि खबाङ्गको भाङ्गो, टमाटर र जिरे खुर्सानी मिसाएर बनाएको अचार।
फापरको रोटीमा बाख्राको चिज दलेर खाएपछि, भाङ्गोको पिरो अचार चाटेर गाईको मोही पिउँदा मिठो र अनौठो स्वाद आउने रहेछ भनेर चाइनिज साथीले बताए।
“अनि बनमा बाँदेल, मृग आदि जनावर मार्न सरकारले अनुमति दिन्छ त”? – जापानी साथीले जिज्ञासा राखे।
जबाफमा वेटरले भने – “स्थानियहरूलाई तोकिएको संख्यामा जनावर मार्न र काठ काट्न छुट छ। यसो गर्दा स्थानिय बासीलाई फाइदा पनि हुन्छ र इकोसिस्टम पनि दुरुस्त रहन्छ” ।
रेस्टुरेन्टमा केही बेर बसेपछि हामी खैराकोट पहाडको उत्तरी पाखामा बनाएको लिफ्ट कार चढेर तल ओर्लियौं। शनिबार र आइतबार घुम्न जाने योजना बन्यो। भोलिपल्ट क्वाडी बस टर्मिनलमा भेट्ने सल्लाह भयो। त्यसपछि साथीहरू ट्याक्सी चढेर विश्वविद्यालयको आवास गृहतिर लागे भने म मेरो घर खैरातिर।
भोलिपल्ट बिहानै हामी क्वाडीबाट भालुबाङ्ग जाने डबलडेक बसमा चढ्यौं। बसले क्वाडीबाट चेरनेटा, चकचके, बडडाडा हुँदै एकैछिनमा भालुबाङ्ग पुर्यायो। यो बाटो निकै स्तरिय रहेछ। घुम्तीहरूमा पुल र टनेल बनाएर बाटो सिधा पारिएको थियो। सबैभन्दा ठूलो टनेल बडडाडामा रहेछ। साना–ठूला थुप्रै टनेल देखेपछि चाइनिज साथीले भने – “यो टनेल प्रविधि चीनले नेपालबाट सिक्न सके कति जाति हुने थियो होला? हाम्रो नेताहरू विदेश त जान्छन् तर केही सिक्दैनन्, ठूला–ठूला सपना देखाउँछन् तर काम केही गर्दैनन्”। जापानी साथीले थपे – “हाम्रो नेताहरू पनि त्यस्तै हो, सबै भ्रष्टाचारमा लिप्त छन्”।
भालुबाङ्ग बजार सफा, सुन्दर र व्यवस्थित देखिन्थ्यो। सिधा र फराकिला सडक, दुबैतर्फ चिटिक्क परेका पसलहरू, अनि ट्राफिक व्यवस्थापन गर्ने स्वचालित प्रणालीले भालुबाङ्ग बजार एकदम आधुनिक देखिन्थ्यो। राप्ति नदीको किनारमै २६० मिटर अग्लो अब्जरभेसन टावर रहेछ। टावरको माथिल्लो खण्डमा घुम्ने रेस्टुरेन्ट थियो। घुम्ने रेस्टुरेन्टमा बसेर वरिपरिको दृश्य नियाल्न निकै मजा आयो – उत्तरमा बाङ्गेसालदेखि दक्षिणमा देउखुरी उपत्यकाको विशाल समथर फाँट, अनि वरिपरिका हरिया पहाडहरूको दृश्य हेर्दै मनमोहक थियो। राप्ति नदीमा थरिथरिका डुङ्गा, वाटर स्कुटर र स्पिडबोटमा स्वदेशी र विदेशी पर्यटकहरू रमाइलो गरिरहेका देखिन्थे।
स्थानिय देउखुरीको फाँटमा फलेको कफी र राप्ति नदीमा मारेर तारेको माछा खाएर हामी पूर्वतिर जाने ‘बुलेट ट्रेन’ चढ्यौं। एकैछिनमा ट्रेन भैरहवा पुग्यो। झ्यालबाट लुम्बिनीका मन्दिरहरू झुर्लुक्क देखा परे। ट्रेन अटेन्डेन्टले बुद्धको जन्मस्थल र लुम्बिनीबारे छोटकरीमा यात्रुहरूलाई जानकारी दिए। त्यसपछि केही बेरमै ट्रेन चितवन पुगेर करिब पाँच मिनेट रोकियो। केही यात्रु ओर्लिए, केही चढे। ट्रेन पूर्वतिर लागेपछि अटेन्डेन्टले हामीलाई चितवनको भूँइकटहरको जुस र हेटौडामा फलेको कोकोबाट बनेको चकलेट खान दिए। दुवै निकै स्वादिष्ट थिए।
भालुबाङ्गबाट हिँडेको करिब तीन घन्टामा हामी झापा पुग्यौं। जापानी साथी बुलेट ट्रेनमा पहिलो पटक चढेका रहेछन्। उनले यो यात्रा अबिशमरणिय भयो भन्दै थिए। त्यो दिन हामी बिर्तामोडमा बस्यौं। बिर्तामोडमा नेपालकै सबैभन्दा ठूलो गाई फार्म रहेछ। हामीले त्यसको अवलोकन गर्यौं। त्यति ठूलो फार्म जम्मा दुई जना मानिसले चलाएका रहेछन्। सबै काम मिसिनले गर्दो रहेछ। फार्मका मालिकले बताए अनुसार यहाँको चिज स्विजरल्याण्डमा निकै लोकप्रिय छ रे। कृषि हाम्रो पुस्तेनी पेशा हो भन्दै थिए। सरकारबाट कृषक लाइ दिइने सुविधाका कारण उनलाई अरु भन्दा यो पेशा आकर्षक लागेको रहेछ।
भोलिपल्ट आइतबारको दिन बिहानै हामी इलाम गयौं। इलामको चिया बगानमा केही समय बिताएपछि मध्य पहाडी लोकमार्गमा चल्ने एक्सप्रेस बस समातेर काठमाडौंतिर लाग्यौं। बसका ड्राइभर दौरा–सुरुवाल, कम्मरमा पेटी र भादगाउले टोपीमा चिटिक्क देखिन्थे। बस चढ्ने बेला थोरै झुकेर ‘नमस्कार’ भन्दै हामीलाई स्वागत गरे। बस ड्राइभरको नम्रता र व्यावसायिकता देखेर जापानी साथी दंग परे। भन्दै थिए – जापानका ड्राइभरहरू त अलि छुचा हुन्छन्।
मध्य पहाडी लोकमार्गको यात्रा निकै रमाइलो भयो। ठाउँ–ठाउँमा दृश्यावलोकनका लागि भ्यू प्वाइण्टहरू बनाइएका थिए। बाटोको तल–माथि काठबाट बनेका सुन्दर घरहरू देखिन्थे। ठाउँ ठाउँमा लालीगुराँस फुलेर पहाड रातै देखिन्थ्यो भने कतै सुन्तला, अम्बा, केरा लटरम्ब फलेका देखिन्थे। तराइको हरियाली फाँट, पूर्व–पश्चिम राजमार्ग, राजमार्गको छेउबाट जाने रेलमार्ग, राजमार्गबाट सहायक मार्ग निकालेर अलि पर बनाइएका मिलेका बस्तीहरू, ठाँउ–ठाँउमा उत्तर–दक्षिण जोड्ने केवल कार र पक्की बाटाहरू देखेर विदेशी साथीहरू नेपालको प्राकृतिक सुन्दरता र विकास बाट प्रभावित भएको सजिलै अनुमान गर्न सकिन्थ्यो।
दिउँसो चार बजे तिर हामी काठमाडौं पुग्यौं। मेरा विदेशी साथीहरूको काठमाडौं घुम्ने इच्छा थियो, तर भोलिपल्ट विश्वविद्यालय जानु पर्ने भएकाले प्लेन चढेर सोही दिन चेरनेटा एयरपोर्टमा ओर्लियौं।
साथीहरूलाई विश्वविद्यालयको आवास गृहमा छोडेर म घर जानको लागि शिशाको टनेलमा हिँड्दै थिएँ, अचानक ठूलो आवाज सुनेँ – ए उठ, घाम ओछ्यानमा आइसक्यो। आमाले बोलाउनु भएको रहेछ। म झस्ल्याङ्ग निद्राबाट बिउझिएँ। मेरो सपनाको शिलशिला त्यहीँ टुट्यो।