Logout

इमिग्रेशन कडाइको असर, ५० हजार विदेशी नर्सले बेलायत छोड्न सक्ने

3.1k Shares

बेलायत सरकारले Indefinite Leave to Remain (ILR) को लागि आवश्यक योग्यता अवधि पाँच वर्षबाट बढाएर १० वर्ष गर्ने योजना अघि बढाएपछि स्वास्थ्य क्षेत्रमा ठूलो संकट उत्पन्न हुन सक्ने चेतावनी Royal College of Nursing (RCN) ले दिएको छ। RCN ले हालै प्रकाशित गरेको अनुसन्धान प्रतिवेदन अनुसार, प्रस्ताव स्वीकृत भएमा ५० हजारसम्म अन्तर्राष्ट्रिय नर्सहरूले बेलायत छाड्न सक्ने सम्भावना देखिएको छ। 

२० नोभेम्बरमा रिपोर्ट सार्वजनिक भएपछि होम सेक्रेटरीले स्पष्ट पार्दै NHS मा कार्यरत नर्सहरूको लागि ILR अवधि नबढाइने जानकारी दिएकी छन्। तर सामाजिक हेरचाह (social care) क्षेत्रमा काम गर्ने नर्स र हेल्थकेयर सपोर्ट वर्करहरू भने अझै पनि जोखिममा रहेको RCN को मूल्यांकन छ। संगठनका अनुसार, प्रस्तावित परिवर्तनले सामाजिक हेरचाह क्षेत्रमा काम गर्ने हजारौँ नर्सहरू प्रत्यक्ष प्रभावित पार्नेछ।

RCN की महासचिव तथा मुख्य कार्यकारी प्रोफेसर निकोला रेन्जरले सरकारको योजनालाई “माइग्रेन्ट नर्सहरूप्रति विश्वासघात” भनेकी छन्। उनले COVID-19 महामारीको चरम समयमा बेलायतको स्वास्थ्य प्रणालीलाई सघाउन आएका नर्सहरूलाई अहिले अनिश्चिततामा फाल्नु अन्यायपूर्ण र अमानवीय भएको टिप्पणी गर्दै अन्तर्राष्ट्रिय स्वास्थ्यकर्मीहरूलाई राजनीतिक बहसको ‘फुटबल’ जस्तै प्रयोग गरिएको दृष्टान्त प्रस्तुत गरिन्।

उनका अनुसार, ILR बिना नर्सहरू आफ्नो भिसाका कारण एकै नियोक्तामा बाँधिनुपर्छ, जसले विशेष गरी सामाजिक हेरचाह क्षेत्रमा शोषणका घटना बढाउन सक्छ। त्यस्तै, ‘नो रिकोर्स टु पब्लिक फन्ड्स’ नियमका कारण कर तिरे पनि उनीहरूले बालभत्ता, अपाङ्गता भत्ता जस्ता आधारभूत सरकारी सहयोग लिन नपाउने अवस्था छ। यसले उनीहरूलाई आर्थिक संकटमा धकेल्न सक्ने RCN को निष्कर्ष छ।

RCN द्वारा ५,००० भन्दा बढी अन्तर्राष्ट्रिय नर्सहरूमा गरिएको सर्वेक्षणले प्रस्तावित परिवर्तनले गम्भीर असर पार्ने देखाएको छ। सर्वेक्षणमा सहभागी ६० प्रतिशत नर्सहरूले ILR अवधि १० वर्ष बनाएमा “UK छोड्ने अत्यधिक सम्भावना” रहेको बताएका छन्। साथै, ५३ प्रतिशत नर्सहरू आर्थिक सुरक्षाबारे, ५२ प्रतिशत परिवारिक स्थिरताबारे, र ४९ प्रतिशत करियरबारे अत्यधिक चिन्तित रहेको तथ्यांकले देखाएको छ।

अनुसन्धानले देखाएको अर्को महत्वपूर्ण पाटो अनुसार, यदि सुरुदेखिनै ILR योग्यता अवधि १० वर्ष तोकिएको भए UK आउन इच्छुक नर्सहरूको संख्या निकै कम देखिएको छ । सर्वेक्षणमा सहभागीमध्ये  ११ प्रतिशतले मात्र यस्तो अवस्थामा UK रोज्ने बताएका छन्।

RCN ले ILR शुल्क पनि अत्यधिक महँगो भएको दाबी गरेको छ। हाल ILR आवेदन शुल्क £3,029 प्रति व्यक्ति रहेको छ, जुन वास्तविक प्रशोधन लागतको पाँच गुणा बढी भएको संगठनले जनाएको छ। यसकारण शुल्क घटाउन पनि सरकारलाई आग्रह गरिएको छ।

संगठनले बेलायत सरकारले अन्तर्राष्ट्रिय नर्सहरूलाई प्रतिस्पर्धी राष्ट्र जस्तै क्यानडा र न्युजिल्यान्डमा झैँ आगमनमै स्थायी बसाइको बाटो (settled status) उपलब्ध गराउनुपर्ने सुझाव दिएको छ। प्रोफेसर रेन्जरले चेतावनी दिँदै भनिन्, “यदि सरकारले नर्सहरूलाई स्वागतयोग्य महसुस गराउन सकेन भने यी कुशल जनशक्ति UK छाड्न बाध्य हुनेछन्, जसले NHS र सामाजिक हेरचाह सुधारका योजना नै असफल बनाउन सक्छ।

सरकारले उक्त प्रस्तावबारे परामर्श प्रक्रिया यस हप्ता सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। RCN ले सरकारलाई ILR अवधि बढाउन खोजिएको योजना तुरुन्त रोक्न तथा नर्सहरूको दीर्घकालीन सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार