काठमाडौं, २५ चैत — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट दुवै जनाविरुद्ध पक्राउ अनुमति लिएको जनाएको छ।
विभाग निकट स्रोतका अनुसार चलअचल सम्पत्तिको प्रारम्भिक छानबिनका क्रममा अस्वाभाविक आर्जन देखिएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो। विभागसँग समन्वय गर्दै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले समेत प्राविधिक सहयोग गर्दै आएको छ।
अनुसन्धानका क्रममा विशेषगरी देउवा दम्पतीका छोरा जयवीरले पछिल्लो समय विभिन्न स्थानमा किनेको जग्गा मुख्य चासोको विषय बनेको छ। स्रोतका अनुसार काठमाडौं उपत्यका र बाहिर गरी करिब ७३ रोपनी जग्गाको स्रोतबारे प्रश्न उठेपछि थप विवरण संकलन भइरहेको छ। त्यसैको आधारमा अन्य आर्थिक कारोबारहरू पनि परीक्षणको दायरामा ल्याइएको जनाइएको छ।
विभागले देउवा दम्पतीको घरजग्गा, बैंक खाताहरू तथा बूढानीलकण्ठस्थित सम्पत्तिमाथि समेत अनुसन्धान गर्ने तयारी गरेको छ। उक्त सम्पत्ति आरजु राणाको माइती पक्षबाट प्राप्त भएको दाबी यसअघि सार्वजनिक हुँदै आएको छ।
हाल देउवा दम्पती उपचारका लागि हङकङमा रहेको बताइएको छ। देउवाका स्वकीय सचिव भानु देउवाले भने आफूहरूलाई अनुसन्धान वा पक्राउ अनुमतिबारे औपचारिक जानकारी नआएको प्रतिक्रिया दिएका छन्।
कानुनी रूपमा, दुई वर्षअघि संशोधित सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाअनुसार कुनै व्यक्तिविरुद्ध अन्य आपराधिक कसुरको आधारबिना प्रत्यक्ष रूपमा यस्तो मुद्दा अघि बढाउन मिल्दैन। यद्यपि, देउवा दम्पतीमाथि विगतदेखि नै शक्ति र पदको दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएका छन्, तर हालसम्म कुनै फौजदारी मुद्दा दायर भएको सार्वजनिक रूपमा पुष्टि भएको छैन।
यसबीच, विभिन्न उजुरीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भए पनि तिनको प्रभावकारी अनुसन्धान नभएको विषय पनि उठ्दै आएको छ। विशेषगरी नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का, सुरक्षण मुद्रण केन्द्र तथा अन्य सरकारी परियोजनासँग सम्बन्धित अनियमिततामा देउवा परिवारको नाम जोडिएको दाबी विभिन्न स्रोतहरूले गर्दै आएका छन्।