अमेरिका र इरानबीच सम्भावित नयाँ आणविक सम्झौताबारे वार्ता अघि बढिरहेका बेला दुवै पक्ष सतर्क देखिएका छन्। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले प्रारम्भिक प्रस्तावहरूमा आणविक हतियारको मुख्य मुद्दा समावेश नहुने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीका अमेरिकी साझेदार सीबीएस न्यूजसँग कुरा गर्दै आफूले इरानसँगको सम्भावित सम्झौताको मस्यौदा देखेको बताएका छन्। सम्झौता पर्याप्त राम्रो छ कि छैन भन्ने प्रश्नमा उनले भने, “म अहिले नै भन्न सक्दिनँ।”
ट्रम्पले सम्झौताका थप विवरण सार्वजनिक नगरे पनि कुनै पनि सहमतिले इरानलाई आणविक हतियार बनाउनबाट “पूर्ण रूपमा रोक्ने” दाबी गरे। उनले भने, “हामीले चाहेको सबै कुरा सुनिश्चित हुने सम्झौतामात्र म हस्ताक्षर गर्छु। या त सम्झौता हुन्छ, होइन भने इरानले अहिलेसम्मकै सबैभन्दा कडा दबाब सामना गर्नुपर्नेछ।”
इरानी विदेश मन्त्रालयका प्रवक्ता बकाइले पछिल्लो एक सातामा अमेरिका र इरानका धारणा केही नजिक आएको बताए। तर उनले मुख्य विषयहरूमा अझै सहमति भइनसकेको उल्लेख गर्दै अमेरिकाले “विरोधाभासी अभिव्यक्ति” दिइरहेको आरोप लगाए।
उनका अनुसार इरानले १४ बुँदे रूपरेखासहितको समझदारीपत्र तयार गर्ने योजना बनाएको छ। उक्त प्रारम्भिक दस्तावेज अन्तिम चरणमा पुगेपछि आगामी ३० देखि ६० दिनभित्र थप वार्ता हुँदै अन्तिम सम्झौतामा पुग्ने लक्ष्य रहेको उनले बताए।
उता अमेरिकी विदेशमन्त्री मार्को रुवियोले पनि सावधानीपूर्वक आशावादी प्रतिक्रिया दिएका छन्। भारत भ्रमणका क्रममा बीबीसीसँग कुरा गर्दै उनले “आउँदा केही दिनभित्र प्रगति देखिन सक्ने” बताए, तर निश्चित रूपमा भन्न नसकिने स्पष्ट पारे।
रुबियोले इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिने अमेरिकी अडान दोहोर्याए। उनले इरानले आफ्नो उच्चस्तरीय समृद्ध युरेनियम अन्तर्राष्ट्रिय नियन्त्रणमा दिनुपर्ने पनि बताए। साथै, उनले होर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा खुला हुनुपर्ने र इरानले त्यहाँबाट कुनै शुल्क नलिनुपर्ने धारणा राखे।
यसैबीच, ट्रम्पले शनिबार साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), इजिप्ट, टर्की र पाकिस्तानका नेताहरूसँग टेलिफोन वार्ता गर्ने तयारी गरेको रोयटर्सले जनाएको छ।
फ्रान्सका राष्ट्रपति इम्यान्युएल म्याक्रोनले पनि ट्रम्प तथा यूएई, कतार, साउदी अरेबिया र जोर्डनका नेताहरूसँग इरानसम्बन्धी वार्ताबारे छलफल गरेका छन्। फ्रान्सले कूटनीतिक समाधानलाई प्राथमिकता दिँदै होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला गरिनुपर्नेमा जोड दिएको छ।
यसअघि वासिङ्टनमा वार्ताको वातावरण चिसिएको संकेत देखिएको थियो। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार प्रशासनले इरानविरुद्ध थप सैन्य कारबाहीको सम्भावना पनि अध्ययन गरिरहेको थियो, यद्यपि अन्तिम निर्णय भइसकेको थिएन।
गत शुक्रबार ट्रम्पले आफ्ना छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाह समारोहमा सहभागी नहुने बताएका थिए। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत “यो महत्त्वपूर्ण समयमा वासिङ्टनमै रहनुपर्ने” उल्लेख गरेका थिए।
यसअघि गत साता ट्रम्पले इरानले राखेका मागहरू “पूर्ण रूपमा अस्वीकार्य” भन्दै अमेरिका–इरानबीचको अस्थायी युद्धविराम “गम्भीर संकटमा” रहेको बताएका थिए।
अमेरिका र इरानबीचको अस्थायी युद्धविराम यस वर्ष अप्रिलको सुरुवातदेखि लागू भएको हो।