नेपालीहरुको पर्व हरितालिका तीज २०८२ को अवसरलाई लक्षित गर्दै लोकसंगीत क्षेत्रकी लोकप्रिय गायिका शान्ति श्री परियारको सुमधुर स्वरमा सजिएको नयाँ तीज गीत ‘आमाको काख प्यारो वरिलै’ सार्वजनिक भएको छ। दिपक अर्यालको शब्द र तारानाथ आचार्यको संगीतमा सजिएको यस गीतले एउटि चेलिलाइ आमाको माया, काखको न्यानोपन र पारिवारिक भावनालाई गहिरो रूपमा उजागर गरेको छ।
दिपक अर्याल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा वर्षा क्षेत्री, प्रकाश पोख्रेल, विष्णु प्रसाद बराल, पवि बराल, दीपक गौतम, देवकी गौतम, जीवन थापा, इन्द्र बहादुर अधिकारी, काजी जि.सी, दिप्सन विश्वकर्मा र रमाकान्त पौडेलले जीवन्त अभिनय प्रस्तुत गरेका छन्।
गीतमा एउटी विवाहित चेलीको आँखाबाट आमाको काख कति अमूल्य हुन्छ भन्ने भाव गहिराइका साथ प्रस्तुत गरिएको छ। आफ्ना मनका भावनाहरु व्यक्त गर्ने सवै भन्दा उत्कृष्ट स्थान नै चेलिको लागि माइतिघर रहेको, लाखौ खर्च गरे पनि आमाको काख किन्न नसकिने लगायतका अत्यान्तै मार्मिक भावहरु प्रस्तुत गरिएको यस गीतले हाम्रो मौलिक तीज संस्कार, चेलीबेटी र आमा–सन्तानको आत्मीय सम्बन्धलाई अत्यन्त मार्मिक रूपमा चित्रण गरेको छ।
‘तीज’का नाममा सार्वजनिक भएका कतिपय गितहरुमा थुप्रै विक्रितिहरु फैलिदै गएको वर्तमान परिवेशमा ‘आमाको काख प्यारो वरिलै’ले मौलिकता, मर्यादा र भावनालाई केन्द्रमा राखेर तीजको वास्तविक सौन्दर्य झल्काएको छ। यस गीतलाई पारिवारिक परिवेशमा सबै पुस्ताले सहजै सुन्न र हेर्न मिल्ने खालको सांगीतिक कोसेलीका रूपमा लिइएको छ।
सर्जक दिपक अर्याल यसअघि पनि “पार्सल”, “भगेरी चरी”, “आउन आमा आउ”, “एउटा वाचा गर्छु”, “तिम्रै तस्बिर प्यारो लाग्छ सानु”, “आत्महत्या गर्छु भन्दानी”, “देश छोड्नेको लर्को” जस्ता गीतहरू मार्फत सामाजिक यथार्थ, भावना र विसंगतिहरू उजागर गर्दै आइरहनुभएको छ। ‘आमाको काख प्यारो वरिलै’ पनि त्यही श्रृंखलाको अर्को सशक्त र भावनात्मक उदाहरण बनेको छ।