नेपाल दक्षिण एशियामा अवस्थित प्राकृतिक छटाले सुसज्जित, सार्वभौम र भूपरिवेष्ठित देश हो। हिमाल, पहाड र तराई, तीनै भौगोलिक क्षेत्र भएको नेपाल प्राकृतिक विविधताले मात्र होइन, सामाजिक र सांस्कृतिक विविधताले पनि उत्तिकै समृद्ध र विशेष छ।
विश्वका धेरै देशहरू प्राकृतिक स्रोतको हिसाबले कमजोर हुँदाहुँदै पनि कृत्रिम विकास, योजनाबद्ध नीति र प्रभावकारी प्रचार–प्रसारमार्फत विश्वभरका पर्यटक आकर्षित गर्न सफल भएका छन्। विगतमा विश्वयुद्धबाट गहिरो क्षति भोगेका राष्ट्रहरूले समयअनुकूल नीति परिमार्जन गर्दै आफूलाई पुनः उभ्याए, जनताको जीवनस्तर उकासे र राष्ट्रलाई समृद्धिको बाटोमा अघि बढाए।
तर हाम्रो जस्तो सम्भावनाले भरिएको मुलुकमा भने दैनिकी गुजारा गर्न कठिन भएकै कारण ठूलो संख्यामा नेपालीहरू न्यून ज्यालामा विदेशिन बाध्य छन्। साहसिक पर्यटनका गन्तव्य, जलविद्युत्को अपार सम्भावना, बुद्ध जन्मेको भूमि, विश्वको सर्वोच्च शिखर सगरमाथा, धार्मिक सहिष्णुताको उदाहरण, जडीबुटी र खनिजजस्ता अमूल्य सम्पदा हुँदाहुँदै पनि नेपालमा वार्षिक पर्यटक संख्या मुस्किलले १० लाख पुग्नु गम्भीर चिन्ताको विषय हो।
यसको सरल तर कठोर उत्तर भनेकै मनपरी राजनीतिक प्रवृत्ति, प्रभावकारी प्रचार–प्रसारको अभाव, गन्तव्य पहिचान र प्रवर्द्धनमा कमजोरी हो। यस्ता समस्यामाथि केवल आलोचना र खण्डन गर्नु दीर्घकालीन समाधान होइन। अब यिनलाई व्यवस्थित ढंगले सम्बोधन गर्नु अनिवार्य भइसकेको छ। उठाइएका विषयभन्दा पनि अझ जटिल र बेवास्ता गरिएका धेरै क्षेत्रहरू छन्, जसको सही पहिचान र उपयुक्त समाधान गर्नु राज्यको प्रमुख दायित्व हो।
राष्ट्र तबमात्र सार्वभौम र अखण्ड रहन्छ, जब राष्ट्रका नेतृत्वकर्ता निहित स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गर्छन्। समाजवादको कुरा घण्टौँ भाषण गरेर होइन, निस्वार्थ भावना, लोभ–लालच त्याग, नातावाद–कृपावादको अन्त्य र मेरिटमा आधारित कार्यसंस्कृतिबाट व्यवहारमै उतार्न सकिन्छ।
राष्ट्रवाद नाराबाट होइन, आर्थिक सुशासन र व्यक्तिगत अनुशासनबाट प्रमाणित हुन्छ। जनताको प्रतिनिधि बन्नु भनेको पद, सुविधा वा विशेषाधिकार होइन; जनताको सेवक बन्ने जिम्मेवारी हो भन्ने स्पष्ट बुझाइ र आत्मप्रतिज्ञा आवश्यक छ। सबै दोष राजनीतिज्ञमाथि मात्र थोपरेर मतदाता स्वयं उम्किनु पनि न्यायोचित हुँदैन। विगतका कमजोरीबाट पाठ सिक्दै अब मतदाताको तर्फबाट पनि केही रचनात्मक परिवर्तन अपरिहार्य भइसकेको छ। यही सन्दर्भमा, आगामी निर्वाचनमा मतदाताले निम्न आधारभूत मूल्याङ्कन गर्न जरुरी छ :
प्रतिनिधिको शैक्षिक योग्यता, सामाजिक प्रतिष्ठा र आर्थिक अनुशासन
राजनीतिबाहेक विगतमा गरेको पेशा, व्यवसाय र आयआर्जनका स्रोत
समाजप्रेमी नेतृत्व हो कि केवल नेतृत्वप्रेमी राजनीतिकर्मी
विगतमा अवसर पाउँदा गरेका वाचा कति पूरा भए, कति अधुरा रहे
विकासका स्पष्ट खाका र तिनको कार्यान्वयनको आधार
जनताको सेवक बन्ने उद्देश्य हो कि राजनीति पेशा बनाउने चाहना
पद र अवसरको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने मनसाय छ कि समाज रूपान्तरणको प्रतिबद्धता
सुशासनप्रतिको व्यवहारिक लगाव
पदप्रतिको लोभ र सत्तामोहको स्तर
पार्टी विशेषको अन्धभक्ति वा टिकटका लागि गरिएको गुलामी
तुलनात्मक रूपमा युवा, प्रविधिमैत्री र यथार्थपरक चुनावी एजेन्डा
यदि एक विवेकशील मतदाताले आफ्नै परिवारको भविष्य सोचेजस्तै गम्भीरताका साथ यी आधारमा मतदान गर्ने हो भने, निश्चय नै फ्रेस, जनमुखी र उत्तरदायी प्रतिनिधि चयन हुनेछ। त्यसले समग्र सरकार सञ्चालनमा सकारात्मक टेवा पुग्नेछ र अन्ततः नेपाललाई समुन्नत राष्ट्रमा रूपान्तरण गर्ने बाटो प्रशस्त हुनेछ।