मतदान सम्पन्न भइसकेपछि अहिले देशभर मतपरिणाम आउने क्रम जारी छ। प्रारम्भिक नतिजाहरूले नेपाली जनताको चेतनामा ठूलो परिवर्तन आएको आभास गराइरहेका छन्। जनता मौन समर्थन देखाएझैँ लागे पनि सही समयमा आफ्नो मताधिकार विवेकपूर्ण ढंगले प्रयोग गर्न सक्षम रहेछन् भन्ने कुरा प्रमाणित भएको छ। लामो समयसम्म नेपाली जनतालाई सही निर्णय लिन नसक्ने, बहकाउमा पर्ने भन्दै “भेडा” जस्तो संज्ञा दिने भाष्य बनाइन्थ्यो, तर आज उनीहरू विवेकशील र सचेत देखिँदा अत्यन्त कृतज्ञ र गर्वान्वित महसुस भएको छ।पहिले चुनावको समयमा देखिने तडकभडक, ठूलो जथ्था, भोजभतेर, खसी–कुखुरा काट्ने, मदिराको तालमा शक्ति प्रदर्शन गर्ने जस्ता गतिविधि प्रायः भ्रष्टाचारबाट आर्जित पैसाकै कारण सम्भव हुन्थे। तर यसपटक त्यस्तो दृश्य लगभग नदेखिनु आफैँमा सकारात्मक संकेत हो।
हिजोका जस्ता घरघरमा जथ्था लिएर जाने, पाखुराको बल देखाएर मत हाल्न बाध्य बनाउने, बुथ कब्जा गर्ने, अनावश्यक लामा–लामा भाषण गरेर आकाशका तारा झार्ने, चुनावका बेला पैसा बाँडेर जनभावनामाथि खेलवाड गर्ने, दर्शकभन्दा वक्ता बढी हुने गरी मञ्च कोच्ने, पद बाँड्ने तर काम नगर्ने, अनि विजय जुलुसको लस्कर लगाएर घण्टौँ भाषण गर्ने संस्कार परिवर्तन हुँदै गएको देख्दा म आभारी छु।
अब विजय उत्सवका नाममा होहल्ला होइन, काममा केन्द्रित हुने र काम देखाएर उत्सव मनाउने संस्कार बस्न लागेकाे छ । भाषण ४–५ मिनेटमा सीमित होस्, विश्वास बोलीले होइन कामले जितियोस्। चाकडी होइन मेहनत गर्ने प्रवृत्ति बढोस्। वायहातका कोठे विश्लेषक बनेर तथ्यविहीन टिप्पणी गर्ने होइन, यथार्थमा आधारित गहिरो विश्लेषण गर्ने संस्कृति बसोस्। भाषण सुनेको भरमा होइन, अध्ययन र तथ्यका आधारमा निर्णय गर्ने परिपाटी बन्दैछ र बन्नुपर्छ ।दादागिरी शैलीमा जनतालाई पार्टीको पेवा ठानेर होइन, विनम्रतापूर्वक जनतामाझ पुगेर मत माग्ने र अबिर–माला बोकेर होइन, समस्या टिप्न डायरी र कलम लिएर हिँड्ने नेतृत्व देख्न पाईएकाे छ ।
अब यो देशमा परिवर्तन अपरिहार्य छ। यो पुरानो दलबाट आजसम्म आशातीत सम्भव हुनसकेन । नयाँ शक्तिले सशक्त आयोग बनाएर भ्रष्टाचारका फाइल खोल्ने, दोषीलाई दण्डित गर्ने र अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने साहस देखाउनुपर्छ। “हाम्रा होइन, राम्रालाई” छान्ने संस्कृति बसाल्नुपर्छ। सुशासनको उत्कृष्ट अभ्यास, सही व्यक्तिलाई उचित जिम्मेवारी, शिक्षा क्षेत्रमा देखिएको चरम बेथितिको सुधार, स्वास्थ्य, यातायात, वातावरण, प्रशासनिक झन्झट, कर्मचारीको “हजुरज्यू” प्रवृत्ति, निर्माण तथा ठेक्कापट्टा प्रणाली, बजेटको पारदर्शी व्यवस्थापन र स्वार्थअनुकूल नीतिहरूको सुधार गर्नुपर्दछ ।
यी र धेरै अन्य क्षेत्रमा सार्थक परिवर्तन आवश्यक छ।
देशभरिका मतपरिणामले अब नयाँ सरकारले आफ्नो लक्ष्य अनुरूप काम गर्न स्पष्ट जनादेश पाएको जस्तो देखिन्छ। यदि यी क्षेत्रमा सुधार आयो भने मात्र देशले वास्तविक परिवर्तनको अनुभूति गर्नेछ।जनता पूर्ण आशावादी हुँदै नयाँ शक्तिलाई विश्वास गरेका छन् । अब नयाँ सरकारले पुराना गलत थिय र गर्नसकेका थिएनन् भन्ने कुरा कामबाट देखाउनुनै उचित जवाफ र जनताकाे सम्मान हुनेछ ।
जय जनता, जय देश।